
सुनसरी । धरान उपमहानगरपालिका–१५ बाट जुवातास खेल्दै गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दिलकुमार खवासको घरमा जुवातास खेलिरहेको छ भन्ने सूचनाका आधारमा छापा हान्दा ताससहित ४ जना पक्राउ परेका हुन् ।
धरान–१५ का ३२ वर्षीय डम्मर भन्ने विकास गोतामे, ३५ वर्षीय ज्ञानबहादुर राई, धरान–१८ का ३२ वर्षीय किसन घिमिरे र भोजपुर पौवादुम्बा गाउँपालिका–१ का ४४ वर्षीय श्री राईलाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु खेलिरहेको जुवाखालबाट १३ बुक तास र नगद ४९ हजार ३ सय १५ रुपैयाँ बरामद भएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























