
काठमाडौं । नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतमा आयोजित “एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४” मा स्वर्ण पदक जितेको छ। मिति २०८१ आश्विन २३ देखि २५ गतेसम्म वेल्स, ब्रेकनमा सम्पन्न यो अन्तर्राष्ट्रिय अभ्यासमा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको हो।
उक्त प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका १२१ टोलीहरूले सहभागिता जनाएका थिए। सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस प्रतिष्ठित प्रतिस्पर्धामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ।
“एक्सरसाइज क्याम्ब्रियन पेट्रोल”को मुख्य उद्देश्य कठिन परिस्थितिमा सैनिक टोलीको लडाइँ तयारी, खबर संकलन, घाइते र बिरामीको व्यवस्थापन, साथै ५० किलोमिटरको दूरी हतियार र करिब ५० पौण्ड तौल बराबरको उपकरणसहित पार गर्ने क्षमता परीक्षण गर्नु हो। दुई दिनको अवधिमा विभिन्न कठिनाइहरू पार गर्दै नेपाली सेनाले आफ्नो सिप र दक्षता प्रदर्शन गरेको थियो।
नेपाली सेनाले यसअघि सन् २०१७ र २०१९ मा पनि स्वर्ण पदक जितेको थियो।


























