
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । भाइटीका लगाउँदा पश्चिम मोहडा हुनुपर्ने समितिले जनाएको छ ।
नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन परेको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंग्लबारदेखि सुरु हुँदै छ । मंगलबार धन त्रयोदशी (धनतेरस) परेको छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ ।
कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार परेको छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कात्तिक १७ गते शनिबार गाईगोरू पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । कात्तिक २२ गते बिहीबार छठ पर्व परेको छ ।























