
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा बिहीबार बिहान विराटनगरमा बाजागाजासहित प्रभातफेरी निकालिएको छ ।
देवकोटा चोकबाट निकालिएको प्रभावफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरीपछि कोशीका प्रदेश सांसद अमृत अर्याल, प्राज्ञ विवश पोखरेललगायतका साहित्यिक अनुरागीहरुले लक्ष्मीप्रसाद देवकोटाको सालिकमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा लक्ष्मीप्रसाद देवकोटाको बारेमा परिचर्चा गरिएको थियो । उनका कृतिहरु अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको स्रष्टाहरुले बताए । देवकोटा बहुमुखी प्रतिभाका धनी एवं असाधारण लेखक भएको बताए ।
उनले आफ्नो १० वर्षको उमेरदेखि कविता लेखन सुरुवात गरका थिए । आफ्नो छोटो जीवनमा उनले नछोएको साहित्यको कुनै विधा छैन । उनले महाकाव्य, खण्डकाव्य, लामा वर्णनात्मक कविताहरू, निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू र समालोचनाहरू लेखेका छन् ।
देवकोटाद्वारा लिखित वियोगान्त नाटक मुनामदन उनको निधन भएको ५ दशक पछिसम्म पनि साझा प्रकाशनद्वारा अत्यधिक बिक्री हुने कृतिमा पर्दछ । विक्रम सम्वत् २०१३ सालमा नेपालको शिक्षामन्त्री भएका थिए । उनकै पालामा नेपालको ठूलो अनि पहिलो त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो ।
देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्ने अद्वितीय प्रतिभा थियो । उनले शाकुन्तल (महाकाव्य) ३ महिनामा, सुलोचना (महाकाव्य) १० दिनमा र कुञ्जिनी एकै रातमा लेखे । नेपाली भाषासाहित्यलाई अँग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
























