‘तिहारको खानपानमा ध्यान दिऔं’

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १५, बिहीबार २१:००

विराटनगर । तिहार नेपालीहरुको दोस्रो ठूलो चाड हो । तिहार भन्ने बित्तिकै उज्यालो, फूल, मनोरञ्जन, सेलरोटी, अर्सा, अनरसा, मिठाईसँग जोडिन्छ ।

तर, चाडपर्वमा स्वास्थ्यको ख्याल नै नगरी तेल र घ्यूजन्य तथा गुलियो भएको परिकार बढी खाने चलन छ । अनियन्त्रित खानाले हृदयघात, मस्तिष्कघात, कोलेस्ट्रोलजस्ता रोगहरु निम्तिने चिकित्सक बताउँछन् ।

खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी अनेक समस्या निम्तिने भएकाले सचेत हुनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । तिहारमा सेलरोटी, अर्सा, अनरसा, मिठाईलगायतका परिकारहरु बढी खाने प्रचलन छ ।

त्यस्तै, आफन्त, इष्टमित्र भेटघाट गर्ने र मिठा मसिना परिकारहरु बनाएर खाने, मदिरा तथा मिठाईको अत्याधिक सेवनले हृदयघात, मस्तिकघात मात्र नभएर जटिल रोग लाग्नसक्ने विराटनगरस्थित कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काको भनाइ छ । खानपानमा सावधानी अपनाउनुपर्ने र सचेत हुनुपर्ने सुझाव उनले दिए ।

डा. रोशन खड्का ।

‘तेलजन्य र गुलियो चिजहरु स्वास्थ्यका लागि घातक भएकाले सामान्य रुपमा ग्रहण गर्नुपर्छ । धेरै खान हुँदैन । सेलरोटी, अर्सा, अनारसामा चिल्लो र कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटु तथा मृगौला रोगीहरुले खानै हुँदैन । खानै मन लागे आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर थोरै खानुपर्छ,’ डा. खड्काले भने । सागसब्जी फलफूललगायत सन्तुलित भोजन सेवन गर्न स्वस्थ्य रहन सकिने उनले बताए ।

सागसब्जी, फलफूल गेडागुडी, कागतीको सर्वतलगायतका खानेकुराहरु खान चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार तिहारअगाडि स्वास्थ्य परीक्षणका लागि आउने बिरामीको अवस्था सामान्य हुन्छ ।

तर, तिहार सकिएलगत्तै उच्च रक्तचाप, मुटुलगायतको अनेक समस्या लिएर बिरामी आउने उनीहरु बताउँछन् । ‘त्यसअघि स्वस्थ्य रहेको मानिसलाई तिहारलगत्तै स्वास्थ्यमा अनेक समस्या देखिनुको पछाडिको मुख्य कारण खानपान नै हो,’ डा. खड्काले भने । खानपानमा ध्यान दिइ स्वस्थ्य जीवनशैली अपनाउनेतर्फ सबैले ख्याल पुर्याउन आवश्यक रहेको चिकित्सकको भनाइ छ ।

कोशी अस्पतालकै अर्का वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले चाडपर्वको समयमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा नराम्रो असर पर्ने बताए । ‘तिहारमा विशेष गरेर विभिन्न प्रकारका रोटी र बजारमा पाइने मिठाईको प्रयोग अत्यधिक हुन्छ । बजारमा मिसावटयुक्त खानेकुरा पाइन्छ । त्यस्ता खानेकुराले थाहै नपाइकन हाम्रो स्वास्थ्यलाई बिगार्छ,’ उनले भने ।

डा. लक्ष्मीनारायण यादव । 

बजारका खानेकुराहरु किन्दा सजक हुँदा मात्रै पनि अनेक रोगबाट बच्न सकिने डा. यादवले बताए । तिहारको समयमा मिठाई अलि बढी खपत हुन्छ । तर, बजारमा पाइने मिठाई मिसावटयुक्त हुने उनको भनाइ छ ।

‘बजारका मिठाई मिसावटयुक्त तेल वा घ्यूबाट बनेको हुन्छ । त्यसले स्वास्थ्यमा असर गर्छ । सबैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ,’ डा. यादवले भने । झोलिलो कुरा बढी खाँदा त्यसले खानेकुरालाई पचाउन र रोग लाग्न नदिन मद्धत गर्ने उनले बताए ।

खानामा फलफूल, सलादको प्रयोग गर्दा उत्तम हुने उनको भनाइ छ । ‘बिहान उठ्नसाथ खाली पेटमा कागती पानी खाने गर्नुपर्छ,’ डा. यादवले भने, ‘त्यसले हाम्रो शरीरभित्र रहेका विषालु तत्वलाई बाहिर निकाल्न सहयोग गर्छ ।’ चाडपर्वमा विशेष गरेर खानपानमा ध्यान दिँदा स्वास्थ्य सम्बन्धी समस्या ननिम्तिने उनले बताए ।

तपाइको प्रतिक्रिया
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
कोशीको नयाँ अभ्यास : कमजोर खेल सुधार्न अरु प्रदेशसँग सहकार्य, पदक विजेतालाई नगदसहित सम्मान
वैदेशिक रोजगारी व्यवस्थित गर्न तीनै तहबीच समन्वयमा जोड
कोशीमा १ हजार १६० जनामा स्क्रब टाइफस संक्रमण, देशभर १० हजारभन्दा बढी
कांग्रेस वरिष्ठ उपाध्यक्षमा शर्माको उम्मेदवारी
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×