यू– १९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिम विजयी

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार १७:१८

विराटनगर । लुम्बिनी प्रदेशले निरन्तर विजयी हुँदै विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थान कायमै राखेको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भए । बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५ विकेटले हरायो ।

टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीले ३६ ओभर ५ बलमा सबै विकेटको क्षतिमा १ सय २ रन बनायो । अर्जुन कुमालले ३५, सिब्रिन श्रेष्ठले २५ रन बनाए । सुदूरपश्चिमका सचिन भट्टले ५, हेमन्त धामी र युवराज खत्रीले समान २–२ विकेट लिए ।

सुदूरपश्चिम १ सय ३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा २६ ओभर खेल्दै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । आशिष लुहारले ३९, युवराज खत्रीले २७ र नरेन साउदले २० रन बनाए । गण्डकीका अपराजित पौडेलले ३ तथा किरण भट्टराई र सिब्रिन श्रेष्ठले १–१ विकेट लिए । प्लेयर अफ द म्याच सुदूरपश्चिमका सचिन भट्ट भए ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अर्काे खेलमा लुम्बिनीले बागमती प्रदेशलाई १ सय २ रनको फराकिलो स्कोरमा हरायो ।

टस जितेर ब्याटिङ थालेको लुम्बिनीले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७८ रनको योगफल बनायो । आकाश त्रिपाठीले ७७, सन्तोष यादवले ६३ र दिलसाद अलीले ५४ रन बनाए । बागमतीका दयानन्द मण्डल र दिनेश बिष्टले २–२ विकेट लिए ।

२ सय ७९ रनको विजयी लक्ष्य पाएको बागमतीले ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ७६ रनमै समेटियो । रोशन विश्वकर्माले ७३, सूर्याङसु कोइरालाले ३२ र राजेश बोहराले २१ रन बनाए । लुम्बिनीका सन्तोष यादव र आकाश त्रिपाठीले ३–३ विकेट लिए । प्लेयर अफ द म्याच आकाश त्रिपाठी भए ।

लुम्बिनी ४ खेलबाट ८ अंक, सुदूरपश्चिम ३ खेलबाट ४ अंक, गण्डकी ४ खेलबाट ४ अंक, मधेस ३ खेलबाट ४ अंक, बागमती ३ खेलबाट २ अंक बटुलेको छ भने कोशी र कर्णाली अंकविहीन अवस्थामा छन् ।

शुक्रबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा मधेस र सुदूरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.