
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत बिहीबार विराटनगरको वैजनाथपुर गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ११ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा सबै विकेट गुमाई १ सय १९ रनको झिनो योगफल बनाएको थियो ।
सुदूरपश्चिमका नरेन भट्टले नटआउट ४४ रन बनाउँदा युवराज खत्रीले २५ रनको योगदान दिए । मधेसका अफ्रुदिन रैनले ४ विकेट लिँदा रन्जित कुमारले ३ विकेट लिए ।
१ सय २० रनको झिनो लक्ष्य पाएको मधेस ४३ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ८ रनमा सीमित भएको थियो । मधेसका मयन यादवले सर्वाधिक ४७ रनको योगदान दिए ।
सुदूरपश्चिमका प्लेयर अफ दी म्याच नरेन साउदले ४ विकेट दिए । उनले १० ओभरमा ७ मेडन ओभर गर्दै ४ रन दिएका हुन् ।
सुदूरपश्चिम ४ खेलमा ३ मा जित हात पार्दै ६ अंकका साथ दोस्रो स्थानमा छ । मधेस ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै चौथो स्थानमा झरेको छ ।
त्यस्तै, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बिहीबार नै भएको अर्काे खेलमा कोशीले कर्णाली प्रदेशलाई १ सय १८ रनको विशाल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा कोशीको पहिलो जित हो ।
टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा सबै विकेट गु्माई २ सय ३ रन बनायो । कोशीका प्लेयर अफ दी म्याच सोनु अन्सारीले ८९ रन बनाउँदा इष्टन रिजालले २३ रन र आशिष मगरले २१ रन बनाए ।
कर्णालीका अरविन्द घर्तीले सर्वाधिक ४ विकेट लिए । २ सय ४ रनको विजयी लक्ष्य पाएको कर्णाली २५ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ८५ रन सीमित भयो । कर्णालीका अरविन्द घर्र्तीले २१ रन बनाउँदा कमल विष्टले १७ रनको योगदान दिए ।
कोशीका प्रेम कामतले ३ विकेट लिँदा आशिष मगरले पनि ३ विकेट दिए । कोशी ४ खेलमा १ खेलमा जित र ३ खेलमा पराजित हुँदै २ अंकका साथ छैटौं स्थान रहेको छ । कर्णाली ३ खेलमा जितविहीन हुँदै अन्तिममा रहेको छ ।
शनिबार वैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी र बागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा लुम्बिनी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।



















