
वीरगन्ज । वीरगन्जमा मुस्लिम विवाह भवन बनेको छ । वीरगन्ज महानगरपालिका–१४ बहुअरीमा भवन बनेको हो ।
मुस्लिम समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक आवश्यकताहरूलाई मध्यनजर गरी विवाह भवन बनाइएको हो । नवनिर्मित भवनको शुक्रबार खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरे ।
भवनमा विवाह, सभा, धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्न सकिने ठूलो सभाहल र दुईवटा अतिरिक्त कोठा छन् । ६० लाख रुपैयाँको लागतमा भवन बनेको हो ।
मन्त्री यादवको संसदीय पूर्वाधार विकास कोष र वीरगञ्ज महानगरपालिकाको संयुक्त लगानीमा भवन निर्माण भएको थियो । यादव पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
मन्त्री यादव भवनले मुस्लिम समुदायको सामाजिक, सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्ने बताउँछन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समुदाय र वर्गका लागि समान रूपमा विकास गर्ने महानगरको नीति रहेको सुनाए ।























