यू– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा लुम्बिनी, घरेलु टाेली कोशी बाहिरियो

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार १९:१९

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र बागमती प्रदेश विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लुम्बिनीले लगातार ५ खेलमा जित हात पार्दै एक खेल अगाडी नै फाइनलमा प्रवेश गरेको छ भने बागमतीले कोशीलाई पराजित गर्दै फाइनलमा पुग्ने आशालाई जीवितै राखेको छ । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७० रनले पराजित गरेको छ । पराजित भएसँगै कोशीको फाइनल यात्रा समाप्त भएको छ ।

टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित ४८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ८१ रनको योगफल बनायो । बागमतीका सार्थक धिताल र उत्तम मगरले समान ३५-३५ रन बनाए । काेशीका प्रतिक पोखरेल र ले ३ प्रेम कामतले ३-३ विकेट लिए ।

१ सय ८२ रनको लक्ष्य पाएको कोशीले २९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रनमा सीमित भयो । कोशीका सोनु अन्सारीले ३० र क्रितिक कामतले २६ रन जोडे । बागमतीको प्लेयर अफ म्याच दीपक सेरलाले ५ विकेट लिए । बागमतीले ४ खेलमा २ मा जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको छ भने कोशीले खेलेको ५ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै छैठौ स्थानमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अर्काे खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आज बिहान पानी परेका कारणले २७ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ९ विकेट गुमाउँदै ८६ रन बनायो । गण्डकीका सोहेल कुवँरले २५ रन बनाए । लुम्बिनीका सन्तोष यादव र आकाश त्रिपाठीले ३-३ विकेट लिए ।

८७ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले २२ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो । लुम्बिनीका सन्तोष यादवले ४४ रन बनाए । गण्डकीका अपराजित पौडेल र सिब्रीन श्रेष्ठले २–२ विकेट लिए । प्लेयर अफ द म्याच लुम्बिनीका सन्तोष यादव घोषित भए ।

आइतबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सुदूरपश्चिम र बागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा गण्डकी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.