
काठमाडौं । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यू–१९ क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जितेको थियो ।
उपाधि जितेको सूदुरले नगद २ लाख तथा ट्रफी तथा उपविजेता लुम्बिनीले १ लाख तथा ट्रफी हात पारेको छ ।
प्रतियोगीताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलर समेत भए ।
उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद ५० हजार, उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफी हात पारे ।
बुधबार भएको फाइनल खेलमा १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१ ओभरमा ११९ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२, शिव कुँवरले २०, विजय कोहरले १९, समीर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए ।
सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन राउदले दुई–दुई र अशोक धामीले एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन बनाएका थिए ।



















