
विराटनगर । विराटनगरमा जारी प्रथम नेपाल हब महिला टी २० क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा विराटनगर हब महिला टिम विजयी भएको छ ।
प्रतियोगिताअन्तर्गत पाहुना टोली राजविराज हब महिला टोलीलाई विराटनगरले ७० रनले पराजित गरेको छ । दुवै टोलीबीच हुने ३ खेलको सिरिजमा विराटनगरले लगातार जित निकाल्दै २–० को अग्रता बनाएको हो ।
राजविराजले टस जितेर पहिलो ब्याटिङको अवसर विराटनगरलाई दिएको थियो । पहिलो ब्याटिङ थालेको विराटनगरले १९ ओभर ४ बलमा सवै विकेटको क्षतिमा १ सय १२ रन बनायो ।
प्रिन्सा मगरले २८, काजल राजवंशीले २०, टीका साहले १६, सानु राजवंशीले १२ रन बनाए । राजविराजकी अपेक्षा यादव र साक्षी यादवले समान ३–३ विकेट लिएका थिए ।
राजविराजले पाएको १ सय १३ रनको लक्ष्य भेट्याउने क्रममा ९ ओभर ५ बलमा सवै विकेटको क्षतिमा ४२ रनमै समेटिए । राजविराजको कुनै पनि खेलाडीले दोहोरो अंक बनाएनन् ।
विराटनगरकी टीका साहले ४ र शुभेच्छा लिम्बूले २ विकेट लिइन् । प्लेयर अफ म्याच विराटनगरकी टीका साह भइन् ।



















