सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार १९:०४

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि मंगलबार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ ।

टोलीका मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे । मार्की दीपेन्द्रले आफू र टोली मालिक दुवै सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताए ।

ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले नेपालको क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने प्रयासका क्रममा एनपीएल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिएका थिए ।

क्यानका सचिव पारस खड्काले एनपीएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने क्रममा रहेको बताए ।

टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ४८ वर्षदेखि आफू क्रिकेटमा रहेको स्मरण गर्दै सुदूरपश्चिम रोयल्सले दिएको जिम्मेवारीका लागि धन्यवाद दिए ।

अनिता चलाउने, चक्र बम, टंक तिमिल्सिनाको स्वर र एनएक्स मसको संगीत संयोजन रहेको सुदूरपश्चिम रोयल्सको टिम एन्थम पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । यसक्रममा सुदूरपश्चिमको पहिचान दर्शाउन दशरथ सुनारले निर्देशन गरेको भिडियो पनि प्रस्तुत गरियो ।

टोलीका मालिक शाहले एनपीएलले नेपाली क्रिकेटको स्वर्णिम युगको सुरु भएको र अब पछाडि फर्केर हेर्नु नपर्ने तर्क राखे । सुदूरपश्चिम खेलकुदका लागि उर्वर भूमि रहेको औंल्याउँदै उनले सुदूरपश्चिमले भविष्यमा खेलाडी तयार पार्ने प्रतिवद्धता व्यक्त गरे ।

क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ ।

टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)का छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.