
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुने छ ।
निर्वाचन नजिकिँदै जाँदा ग्रामथानमा चुनावको चटारो सुरु भएको छ । दलहरुले निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचनको नतिजा आफ्नो पक्षमा पारेर अध्यक्ष जित्ने ध्याउनमा दलहरु केन्द्रित हुँदा चुनावी माहोल गर्माएको छ ।
ग्रामथानको अध्यक्षका लागि अधिकांश दलहरुले उम्मेदवारले टुंगा लगाइसकेका छन् । यद्यपि, स्थानीय निर्वाचनमा पहिलोपटक भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उम्मेदवार यकिन गरिसकेको छैन । २०७९ को स्थानीय तह निर्वाचनमा भने रास्वपाले भाग लिएको थिएन ।
पूर्वगृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका कारण पनि उम्मेदवार टुंगो लगाउन ढिला भएको एक नेताले बताए । ‘पार्टी सभापति हिरासतमा हुनुहुन्छ । सभापति पक्राउको विरोधमा सिंगो पार्टी नै आन्दोलित छ,’ उनले भने, ‘त्यही भएर समयमा उम्मेदवार छनोट गर्न सकिएको छैन । चु्नावी गतिविधि पनि सुरु भएको छैन ।’
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)समेतका दलले अध्यक्षका उम्मेदवार टुंगो लगाइसकेका छन् । उम्मेदवारले घरदैलो गर्दै मत मागिरहेका छन् । रास्वपा भने टुंगोमा पुग्न सकेको छैन ।
ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि खाली रहेको पदमा निर्वाचन हुन लागेको हो । उनी कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । कांग्रेसले पार्टीका पूर्वमहासमिति सदस्य बलराम सरदारलाई उम्मेदवार बनाएको छ ।
एमालेबाट तुलसीराम विश्वास, माओवादीबाट नमोनारायण माझी, एकीकृत समाजवादीबाट दिलबहादुर विक र राप्रपाबाट दिनेशकुमार थन्दार अध्यक्षका उम्मेदवार हुन् । उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
निर्वाचन हुने स्थानीय तहहरूका लागि कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगको कार्यातालिका छ । आयोगले मुख्य र निर्वाचन अधिकृतहरु तोकिसकेको छ ।
कोशी प्रदेशमा ९ पदका लागि उपनिर्वाचन हुने भएको छ । पालिका अध्यक्ष १, जिल्ला समन्वय प्रमुख १ र वडाध्यक्ष ७ गरेर ९ पदमा चुनाव हुने भएको हो ।
मुलुकभर ४४ पदका लागि उपनिर्वाचन हुने छ । जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ , उपप्रमुख १ र वडाध्यक्ष ३४ पदका लागि चुनाव हुने हो ।

























