
विराटनगर । मोरङको विराटनगर–५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण हुने भएको छ ।
स्थानीयको सक्रियतामा निर्माण हुन लागेको मन्दिरको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए । उनले सबैलाई आआफ्ना भाषा, कला, धर्म र संस्कृतिको संरक्षण गर्न आग्रह गरे ।
सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरिया, नेकपा एमालेका नेता विनोद ढकाल, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, मन्दिर निर्माण समितिका अध्यक्ष शोभानन्द यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मन्दिरको शिलान्यासअघि कलश यात्रा निकालिएको थियो । कलश यात्राले वडाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।























