
झापा । झापाको बिर्तामोडमा मंसिरको अन्तिम सातादेखि ‘बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल’ हुने भएको छ ।
झापा ११ फुटबल क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता हुने जानकारी दिएको हो । क्लबका अध्यक्ष जलकुमार गुरुङले मंसिर २९ देखि पुस ६ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता हुने बताए ।
उनका अनुसार प्रतियोगितामा नेपाल र भारतीय टोलीको सहभागिता हुनेछ । फुटबल खेलको स्तर वृद्धि गर्दै खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गुरुङले बताए ।
नेपालको मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । उनले भारतीय टोलीसँग सहभागिताका लागि संवाद भइरहेको बताए ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले टोलीले ५ लाख रुपैयाँ ट्रफी र मेडल प्राप्त गर्ने छन् । ११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौंमा सम्पन्न एन्फा कपमा पहिलो पटकको सहभागितामा नै ‘ए’डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।



















