
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकाका–१ मा नवर्निमित प्रहरी चौकी बराहक्षेत्रको भवन उद्घाटन भएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्र कुँवेर खापुङ र बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले संयुक्त रुपमा भवनको उद्घाटन गरेका छन् ।
भवन उद्घाटनपछि बोल्दै डीआईजी खापुङले धरतीको पहिलो तीर्थस्थल बराहक्षेत्रमा प्रहरी चौकी बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । उनले प्रहरीले प्रदान गर्दै आएको शान्ति, सुरक्षालगायतका सेवा अझ प्रभावकारी रुपमाअघि बढ्ने बताए ।
नयाँ भवनबाट प्रहरीलाई सहज रुपमा काम काज गर्न सहज हुन्छ । यहाँबाट आगामी दिनमा प्रहरीले अझ विशेष रुपमा अपराध नियन्त्रण कार्यमा जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान हुनेमा विश्वस्त रहेको उनले भने ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना र बराहक्षेत्र नगरपालिकाकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले शुभकामना व्यक्त गरे ।
कोशी प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक हरि डंगोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।
३ करोड १९ लाख ४९ हजार लागतमा अढाइ तले सुविधा सम्पन्न कार्यालय भवन, भान्सा घर तथा शौचालयको निर्माण कार्य सम्पन्न भएको हो बताइएको छ ।























