विश्व च्याम्पियनसिपका लागि तयारी थाल्न आग्रह

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार १९:०२

काठमाडौं । उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारी थाल्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आग्रह गरेका छन् ।

तेस्रो थाउलो विश्व कपका कांस्य पदक विजेता सिन्जालीलाई आज त्रिपुरेश्वरस्थित सदस्यसचिव घिसिङले आफ्नै कार्यकक्षमा उनलाई बधाई दिँदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका हुन् ।

उनले विश्व च्याम्पियनसिपको तयारीका लागि राखेपले आवश्यक सम्पूर्ण सहयोग गर्ने भएको हुँदा ढुक्क भएर पदक जित्ने गरी तयारी गर्न भने ।

सदस्यसचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोबर्धन जस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउँदै थाउलो विश्व कपको पुरस्कारका लागि प्रक्रिया सुरु भइसकेको जानकारी गराए ।

विजयले जापानको योकोहामामा अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्व कपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन् ।

चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धीमध्ये ५ औं स्थानमा रहँदै विजय थाउलो विश्व कपका लागि छनोट भएका थिए ।

सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कांस्य जितेका थिए । विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र १३ औं सागमा स्वर्ण जितेका छन् ।

थाउलो विश्व कपमा नेपालबाट विजयसहित ५ खेलाडीले सहभागिता जनाएका थिए । निमा घर्ती मगर, राजीव तामाङ, दीपक हमाल र पासाङ शेर्पा पदकविहीन बने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.