राहदानी वितरण बन्द भएपछि सेवाग्राही मर्कामा

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ९, आइतबार १८:५९
जिल्ला प्रशासन कार्यालय मोरङको गेटमा टाँसेको राहदानी वितरण बन्द भएको सूचना पढ्दै ।

विराटनगर । राहदानी वितरण बन्द भएपछि मोरङका सेवाग्राहीहरु मर्कामा परेका छन् । राहदानी विभागले वितरण रोक लगाएपछि सेवाग्राहीहरुले सास्ती खेप्नु परेको हो ।

वैदेशिक रोजगार र पढाइका लागि विदेश जानेहरुले समयमा राहदानी सम्बन्धित ठाउँमा पेस गर्न नसक्दा अवसरबाट बञ्चित हुनसक्ने भन्दै आक्रोश पोखे ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागले मंसिर ६ गते ७७ वटै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयलाई पत्र पठाएर हाललाई राहदानी वितरण रोक्न आदेश दिएको थियो ।

विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ ।

गत शुक्रबार विभागले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई राहदानी वितरणमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको र १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्ने प्रयास गरिरहेको पत्रमार्फत जानकारी दिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रदीप साहले राहदानी वितरण मोरङमा मात्रै नरोकिएको बताए । विभागको सर्भर (प्रविधि)मा समस्या आयो भनेर रोक लगाइएकाे उनकाे भनाइ छ ।

राहदानी वितरण रोकिएपछि सेवाग्राहीलाई समस्या परेको छ । मोरङमा राहदानी सम्बन्धी काम लिएर दैनिक ९० / १०० जनासम्म आउने गरेको साहले बताए ।

राहदानी वितरण बन्द भएपछि वैदेशिक रोजगार र विदेश पढ्न जाने विद्यार्थीहरु अन्योलमा परेका छन् ।

राहदानी बनाउन आउने सेवाग्राहीहरुले सरकारप्रति आक्रोश पोख्दै राहदानी बनाउने जस्तो कुरामा गम्भीर नभएको गुनासो गरे । उनीहरुले सर्भर वा सफ्टवेयर बिग्रदा १ / २ घण्टा वा बढीमा दिनभरिमा समस्या हल गरिसक्नुपर्ने हो ।

तर, यतिका दिनसम्म पनि हल गर्न नसक्नु सरकार र कर्मचारीले लापरबाही रहेकाे गुनासो गरेका छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.