
विराटनगर । वैदेशिक रोजगारीमा गएकाको परिवारसँग वैदेशिक रोजगार बोर्डले अन्तरक्रिया थालेको छ ।
वैदेशिक रोजगारमा गएका श्रमिक र उनका परिवारले भोग्नु परेका समस्याबारे जानकारी लिने उद्देश्यका साथ अन्तरक्रिया आयोजना गरेको हो । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई समस्या पर्दा कहाँ सम्पर्क गर्ने भन्ने थाहा नहुँदा थप पीडा भोग्नु परेको कार्यक्रममा श्रमिकका परिवारहरुले बताए ।
श्रम गर्न विदेश गएकालाई समस्या पर्दा श्रमिक, श्रमिकका आफन्त तथा परिवारले कहाँ, कसरी सम्पर्क गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रोजगार बोर्डले विभिन्न स्थानमा गएर जानकारी दिँदै आएको बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले बताए ।

वैदेशिक रोजगारमा जानेलाई समस्या परे, झुटा मुद्दा लागेमा, दुर्घटनाबाट घाइते अपांग भएमा रोजगार बोर्डले सहयोग गर्ने तथा कुनै कारणले मृत्यु भएको अवस्थामा शव व्यवस्थापनदेखि राहत उपलब्ध गराउनेसम्मका काम गर्ने उप्रेतीले सुनाए ।
उनले वैदेशिक रोजगारीमा जाँदा कुनै प्रकारको सिप सिकेर मात्र जान आग्रह गरे । वैदेशिक रोजगारबाट फर्केका युवाहरुले त्यहाँ सिकेका सिप, पुँजी तथा प्रविधिको प्रयोग गर्दै स्वदेशमै स्वरोजगार तथा उद्यमी बन्नका लागि बोर्डले तालिम दिने गरेको उप्रेतीको भनाइ छ ।
यस वर्ष मात्रै ५ हजार युवालाई विभिन्न सिपमूलक तालिम दिन लागिएको छ । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले नेपालबाट केही सिप सिकेर वैदेशिक रोजगारीमा गएका युवाहरुले राम्रो आम्दानी गरिरहेको बताए ।
उनले घरपरिवारबाट पनि आफन्त, छोरा÷छोरीलाई सिप सिकेर मात्र पठाउन आग्रह गरे ।























