
विराटनगर । मोरङको सन्दरहरैंचा नगरपालिका–३ गछियास्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
लायन्स क्लब अफ विराटनगर गोग्राहाले आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीचमा विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको हो ।
क्लब अध्यक्ष प्रकाश पराजुली, संस्थापक अध्यक्ष तेजलाल कर्ण, लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘सी’का गभर्नर विकास अधिकारीलगायतले विद्यालयका ७० जना विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरे ।

विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद दुलालले निम्न वर्गीय समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर उत्कृष्ट काम गरेको भन्दै क्लबलाई धन्यवाद दिए ।
कार्यक्रममा लायन्स क्लबका रमेश खत्री, राजन निरौला, सुशिल सन्थलिया, चन्द्रमणि गुरागार्इं, सुन्दरहरैंचा–३ का कार्यवाहक वडाध्यक्ष निलम अधिकारीलगायतको सहभागिता रहेको थियो ।























