‘महानगर रोजगार मेला’ सुरु, नर्सको माग बढी

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १, सोमबार १८:५९

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ ।

विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको विराटनगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।

रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ ।

युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिए ।

विराटनगर महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रमशक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ ।

दुई दिने मेलाबाट ३ सयभन्दा बढी युवायुवतीले रोजगारी प्राप्त गर्ने मेयर कोइरालाले बताए ।

२०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट १ सय ९७ जना युवा रोजगार भएका थिए, उनले भने, ‘यस वर्ष ४ सय जनाभन्दा बढी युवाले रोजगार प्राप्त गर्ने हाम्रो अनुमान छ ।’

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवालाई एउटै थलोमा राखेर पुलको काम महानगरपालिकाबाट भएको बताइन् ।

महानगरपालिकाले हरेक वर्ष रोजगार मेला आयोजना गर्ने गरेको छ । बेरोजगारलाई रोजगारी सिर्जना गर्न, बेरोजगार र रोजगारदाताको बीचमा सम्बन्ध स्थापित गर्नका लागि पनि मेला महत्वपूर्ण रहेको कार्कीले भनिन् ।

इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमार मेहता, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ३ का वासुबहादुर बस्नेत, १० का अर्जुन गिरी, १९ का श्याम घिमिरेलगायतको उपस्थितिमा रहेकाे थियाे ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनुपर्ने बाध्यता विद्यामान रहेको उल्लेख गरे । अहिले पनि बजारमा दक्ष जनशक्तिको अभाव छ । यस क्षेत्रका उद्योगमा प्राविधिक जनशक्तिको अभाव छ । जहाँ विदेशी जनशक्तिले काम गरिरहेका सुरानाले बताए ।

विराट व्यापार संघका उपाध्यक्ष शरद श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलालगायतले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगार प्राप्त गर्दै आएको बताए ।

३० वटा बढी स्टल रहेको रोजगार मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगारदाताले युवा जनशक्तिसँग परामर्श गर्नेछन् ।

यसैबीच, मेलामा सबैभन्दा बढी स्टाफ नर्सको माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए । नोबेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट १ सयभन्दा बढी नर्सको माग आएको थापाले बताए ।

उनका अनुसार नर्सपछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।

स्टल राखेका सबै रोजगारदाताबाट ४ सयभन्दा बढीको माग आएको छ । त्यस्तै, २ हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।

गत वर्षको मेलामा ३२ वटा स्टल समावेश गरिएको थियो भने १ सय ९७ जनाले रोजगारी प्राप्त गरेका थिए । ३ हजार २ सयले मेलाको प्रत्यक्ष अवलोकन गरेका थिए ।

यस वर्षको मेलामा ५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.