‘महानगर रोजगार मेला’मा ३५ सयभन्दा बढीले गरे अवलोकन

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २, मंगलबार १९:२६

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ सम्पन्न भएको छ ।

विराटनगर–७ स्थित इको पार्कमा सोमबार सुरु भएको मेला मंगलबार सम्पन्न भएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा ३ हजार ५ सय जनाले प्रत्यक्ष अवलोकन गरेका छन् ।

त्यस्तै ३ सय १९ वटा आवश्यकता माग भएको छ । १ सय ६१ जनालाई रोजगारदाताले अन्तरवार्ताका लागि बोलाएका छन् । उनीहरुलाई सम्बन्धित कम्पनीले प्रक्रिया पूरा गरेर काममा लगाउने छ ।

रोजगार शाखाका कपिल थापाका अनुसार १२ जनाले काम पाइसकेका छन् । उनीहरुले मंगलबारदेखि नै सम्बन्धित कम्पनीमा गएर काम सुरु गरिसकेको थापाले जानकारी दिए ।

मेला समापन समारोहलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगर रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवाहरुका लागि अवसर सिर्जना गरेको बताए ।

उनले युवा जनशक्तिको बैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिए ।

महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ ।

समापनका अवसरमा रोजगारदाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले मेलामा स्टल राख्ने सबैलाई कदरपत्रले सम्मान गरे ।

कार्यक्रममा स्वीस कन्ट्रयाकका कन्ट्री डाइरेक्टर सञ्जय कार्की, आसमान नेपालका गणेश दाहाल, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले महानगरले रोजगार मेला आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताए ।

यसअघि गत वर्ष आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट १ सय ९७ जना युवा रोजगार भएका थिए । यस वर्षको मेलामा सबैभन्दा बढी स्टाप नर्सको माग आएको महानगरको रोजगार शाखाका थापाले जानकारी दिए ।

नोबेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट १ सयभन्दा बढी स्टाप नर्सको माग आएको थापाले बताए ।

उनका अनुसार स्टाप नर्सपछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.