
काठमाडौं । सशस्त्र प्रहरीको केन्द्रीय (मुख्यालय)कार्यालयले एसपीसहित एक दर्जन प्रहरी अधिकृतमाथि आन्तरिक छानबिन सुरु गरेको छ ।
एक जना एसपी, ३ जना डीएसपी, ४ जना इन्स्पेक्टर, २ जना वरिष्ठ सइ, २ जना सइ गरी १२ लाई सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा तानिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी कुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न असफल भएको भन्दै प्रधानमन्त्री कार्यालय, हेलो सरकार, गृह मन्त्रालयका आएका गुनासोको आधारमा उनीहरुलाई मुख्यालयमा तानेर बयान लिन थालेको हो ।
कपिलवस्तु कृष्णनगर बिओपीका प्रमुख डीएसपी शैलेन्द्र न्यौपाने, कपिलवस्तु चाकरचौडाका जयराम बस्नेत, मटिहर्वा बाराका विदुर भट्टराई तानिएका छन् ।
त्यसैगरी, नवराजपुर बीओपी सिराहका इन्स्पेक्टर रोशन थापा, बीओपी अमडुवाका सुनसरीका इन्स्पेक्टर प्रकाशविक्रम कार्की, मोरङस्थित नोचा बीओपी जयबहादुर दथेकुथेलगायतलाई मुख्यालय बोलाइएको हो ।
त्यस्तै, धनुषास्थित फूलगाभा बीओपीमा कार्यरत गणेश बोहोरा, समसिओपी बीओपी महोत्तरीका कृष्ण गुरुङलाई तानेर सीमा सुरक्षा विभागमा हाजिर गराइएको छ ।
सीमा क्षेत्रबाट आएका गुनासोका आधारमा उनीहरुलाई मुख्यालयमा तानेर सोधपुछ गर्ने र अन्य प्रमाणहरु खोज्ने काम भइरहेको छ । यदी उनीहरु दोषी भेटिए विभागीय कारबाही हुने डीआइजी न्यौपानेले बताए ।























