
विराटनगर । मोरङमा हातखुट्टा बाधेको अवस्थामा एक महिला फेला परेकी छन् । जहदा गाउँपालिका– ३ की ऋषिदेव थरकी महिला बाँसझ्याङमा अर्धचेत अवस्थामा फेला परेकी हुन् ।
मंगलबार दिउँसो कटहरी गाउँपालिका– २ स्थीत धानखेतको बीचमा रहेको बासझ्याङमा उनलाई भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार पराल लिन गएकी महिलाले देखेपछि उनको उद्दार भएको थियो ।
‘पराल लिन गएकी महिलाले देखेपछि हामीसँग घटनाको जानकारी आयो, हामी पुगेर बाधेको डोरी खोलेर उपचारका लागि अस्पताल पठायौं,’ डिएसपी जोशीले भने, ‘महिलाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ, घटनाको विषयमा अनुसन्धान पनि भइरहेको छ ।’
प्रहरीका अनुसार ती महिलाका २ सन्तान छन् । उनी श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी माइतमा बस्दै आएकी थिइन् । मंगलबार बिहान भने उनी घरबाट निस्कीएकी थिइन् ।
‘घरबाट किन निस्कीएको भन्ने खुलेको छैन, महिलाको अवस्थाले गर्दा घटना शंकास्पद छ,’ उनले भने, ‘सबै कोणबाट अनुसन्धान भइरहेको छ ।’ डिएसपी जोशीका अनुसार ती महिलाले लगाएको कपडा च्यातिएका छन्, शरिरका केही भागमा निलडान पनि छन् ।
उनीमाथि हातखुट्टा बाधेर जबरजस्ती करणी भएको आशंका प्रहरीको छ । तर डिएसपी जोशी भने मेडिकल परीक्षणपछि मात्रै सो विषय खुल्ने दाबी गरे । ‘अहिले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’उनले भने,‘ १–२ दिनमा सबै विषय खुल्छ ।’ उनले महिलालाई हातखुट्टा बाधेर छाड्नेको खोजी भइरहेको बताए ।

























