
विराटनगर । साहित्यकार हरि कट्टेलको नवौँ कृति ‘दीप्तदृष्टि’ कवितासङ्ग्रहको विमोचन भएको छ ।
स्रष्टा समाज नेपाल, कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलगायतले विमोचन गरेका हुन् ।
समालोचक प्रा.डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल,समालोचक प्रा.डा. रमेश घिमिरे, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई, खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी’मार्सेली’ लगायतले विमोचनमा साथ दिएका थिए ।
विमोचित कृतिमाथि समालोचक प्रा.डा. रमेश घिमिरेले समीक्षा गरेका थिए । उनले कविता सङ्ग्रहका कविताहरूमा राष्ट्र प्रेम, जीवनदर्शन, शासकीय अहङ्कार, मानवीय चरित्रलगायत विषयलाई विम्व र प्रतीकको प्रस्तुत गरिएको बताए ।
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सङ्ग्रह भित्रका कविताहरूले देशको विकास र सामाजिक रूपान्तरणको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
समालोचक प्रा.डा. हरिहर भण्डारीले पछिल्लो समयमा नेपालको राष्ट्रियता कमजोर बनाउने गरी विभिन्न गतिविधीहरू बढिरहेको तर सरोकारवाला तथा सम्बद्ध पक्षले यसको विरुद्धमा आवाज बुलन्द गर्न नसकिरहेको दुखपूर्ण घडीमा कवितामार्फत सशक्त खवरदारी गरिएको बताए ।
नेपाल स्रष्टा समाज, काठमाडौंले प्रकाशित गरेको सङ्ग्रहमा शास्त्रीय छन्दका ५७ वटा कविताहरू छन् ।























