
विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरुसँग निःशुल्क उपचार पाउने बिरामीको विवरण माग गरेको छ ।
मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको हो । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै निःशुल्क उपचार पाएका बिरामीको विवरणसहितको प्रतिवेदन माग गरेका हुन् ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था छ । निःशुल्क तथा आंशिक सेवा लिने बिरामीहरुको व्यवस्थित रुपले अभिलेख राखेर त्यसको विवरण मासिक, चौमासिक र वार्षिक रुपमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्नु पर्ने व्यवस्था छ ।
साथै, निःशुल्क तथा आंशिक सेवा लिएका व्याक्तिहरुको विवरण देखिने गरी सार्वजनिक हिसाबले टाँस्नुपर्ने व्यवस्था पनि छ । उल्लेखित व्यवस्था बमोजिमको कार्य नगरेको र नगराएको अवस्थामा स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को परिच्छेद ११ मा सञ्चालन अनुमति नवीकरण हुन नसक्ने अवस्था र खारेजी सम्बन्धी व्यवस्था छ ।
‘तहाँ अस्पतालमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गरेको विवरण, अभिलेख तथा प्रतिवेदन मासिक, चौमासिक र वार्षिक रुपमा तयार गरी सम्बन्धित निकायमा पेस गरेको प्रमाणित कागजात पत्राचार गरिएको मितिबाट लागू हुने गरी सात दिनभित्र यस मन्त्रालयमा पेस गर्नु हुन आदेशानुसार अनुरोध छ,’ अस्पतालालाई गरिएको पत्राचारमा भनिएको छ ।


























