
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ।
बचतकर्ताको रकम अनियमितता गरेको दाबीसहित सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । सहकारीको १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ अपचलन गरेको दाबीसहित अभियोगपत्र दायर गरिएको छ ।
गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दीपक लामालगायतलाई मुद्दामा प्रतिवादी बनाइएको छ ।
लामिछानेविरुद्ध ५ करोड ८ लाख ६७ हजार ६ सय ३३ रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको हो । अनुसन्धानबाट स्वर्णलक्ष्मी सहकारी ठगीमा उनको संलग्नता यकिन भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।
अर्का प्रतिवादी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार ४ सय ८० रूपैयाँ बिगो माग दाबी गरिएको छ । सबै प्रतिवादीबाट असुल उपर गर्नेगरी कुल १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ९० बिगो दाबी गरिएको वकिल कार्यालयले जनाएको छ ।

























