टंकीको बाढी सिंघिया नदीमा मिसाउन नदिन संघर्ष थाल्ने चेतावनी

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २१, आइतबार १८:३४

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको टंकी चोक पूर्व वर्षौंदेखि जम्मा हुँदै आएको बाढीको पानी सुटुक्क उपभोक्ता समिति बनाएर सिंघिया खोलामा मिसाउन लागिएको भन्दै स्थानीयले संघर्ष थाल्ने चेतावनी दिएका छन् ।

बुढीगंगा–१ टंकीचोकदेखि पूर्वउत्तरतर्फबाट बगेर निजी खेतमा जम्मा हुने बाढीको पानी स्थानीय ठूला उद्योग, जग्गा धनी र व्यवसायीहरुको लगानीमा वडा कार्यालयमार्फत सुटुक्क उपभोक्ता समिति निर्माण गरेर ह्युमपाइप राखेर खोलामा मिसाउन लागेको भन्दै स्थानीयले विरोधमा संघर्ष थाल्ने चेतावनी दिएका हुन् ।

डीपीआरसमेत निर्माण नगरी बिना सरकारी योजना, प्रभावित क्षेत्रका बासिन्दाहरुसँग समेत सल्लाह नगरी सुटुक्क टंकी पूर्व खेतमा जमेर बस्ने बाढीको पानी निजी जग्गा प्रयोग गरेर खदरा खोलामार्फत सिंघिया नदीमा मिसाउँदा सयौं घरपरिवारको उठीवास हुने भन्दै स्थानीयले वडा कार्यालयमा आइबार ज्ञापनपत्र बुझाएका छन् ।

बुढीगंगा–१ का वडाध्यक्ष सोमराज काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयले बिना सरकारी योजना निजी जग्गा बचाउनका लागि सुटुक्क बाढीको निकास खोलामा मिसाएर सयौं घरपरिवारलाई डुबान र कटानको जोखिममा पार्ने निर्माण कार्य तुरुन्त बन्द गर्न माग गरे ।

उनीहरुले निर्माण कार्य नरोकिएमा कडा संघर्षमा उत्रने चेतावनीसमेत दिए । बुढीगंगा–१ टंकीचोक पूर्वको पानी करिब २ किलोमिटर पूर्वमा रहेको खदरा खोलामार्फत १ किलोमिटर उत्तर–दक्षिणबाट बग्ने खदरा खोलामा मिसाउन लागिएको छ ।

टंंकीचोकदेखीको पानी सिंघिया खोलामा मिसिए दक्षिणतर्फ विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको तटीय क्षेत्रमा बासोबास गर्ने सयाै‌ घरपरिवारसमेत कटान र डुबानको उच्च जोखिममा पर्नेछन् ।

साथै बुढीगंगा–१ करैया बस्तीमा रहेको सशस्त्र प्रहरीको ३ नम्बर गण पनि डुबानको जोखिममा पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सयौं घरपरिवार र करोडाै‌  धनसम्पत्तीको जोखिम भएकाले जिल्ला प्रशासन मोरङ, गाउँपालिका र प्रदेश सरकारले ध्यान दिन भनेका छन् ।

बुढीगंगा–१ का वडाध्यक्ष सोमराज काफ्लेले योजना अनुसार काम भएकाले कसैले विरोध गर्दैमा बाढीको निकास खदरा खोलामार्फत सिंघिया नदीमा मिसाउने निर्माण कार्य नरोकिने बताए । ठेक्का लागेर काम सुरु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.