ठगी आरोपमा ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २२, सोमबार १६:२०

विराटनगर । ठगी आरोपमा नेकपा एमाले सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत माेरङले पक्राउ पुर्जी जारी गरेकाे छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा अनुसन्धानका लागि सोमबार पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत मोरङको सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए ।

एमालेका मोरङ जिल्ला सदस्यसमेत रहेका अनिलविरुद्ध बाैआलाल चौधरीकी छोरीलाई एमबीबीएसमा नाम निकाल्ने बाहानामा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेबारीबाट हटाएका थिए ।

पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । तर छोरीको नाम ननिस्कीएपछि चौधरीले पोखरेलसँग पैसा फिर्ता मागे । पोखरेलले  उल्टै धम्की दिए ।

२०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भन्दै बोलाएर ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएका थिए । तर त्याे कागज उनले दर्ता गरेनन् ।

जबरजस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनि कपाली तमसुक बनाएपछि बौआलाल प्रहरी कार्यालय पुगेका थिए । जबरजस्ती बनाएको तमसुक च्यात्न र ठगी कसूरमा कारवाही गर्न भन्दै जाहेरी दिन प्रहरी कार्यालय गएपनि प्रहरीले जाहेरी दर्ता गरेन् ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि १८ साउन २०७९ मा हुलाकमार्फत जाहेरी पठाएका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका थिए ।

गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको गर्न अन्तिम आदेश दिएको थियो ।

आदेशको पुस ११ गते प्रमाणीकरण भएको थियो । अदालतको आदेशको पत्र आएपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.