बालिका बलात्कार प्रकरण : बिर्तामोडका पूर्वमेयर कारागार चलान

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २२, सोमबार १८:४६

झापा । बालिका बलात्कार प्रकरणमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रवकुमार शिवकोटी कारागार चलान भएका छन् ।

जिल्ला अदालत झापाले तत्काल प्राप्त प्रमाणका आधारमा शिवकोटीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न सोमबार आदेश दिएको हो । अदालतको आदेशलगत्तै उनलाई कारागार चलान गरिएको छ । घरमा राखेर १५ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोप शिवाकोटीमाथि लागेको छ ।

घरेलु कामदारका रूपमा राखिएकी बालिकालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा प्रहरीले मंसिर २४ गते पक्राउ गरेर उनलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालयले शिवकोटीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार किरणकुमार सिंहले बताए । शिवकोटी नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सदस्य हुन् ।

बिरामी परेको भन्दै अनुसन्धान अवधि भने उनले बिर्तामोडकै बी एन्ड सी अस्पतालमा कटाए । शिवाकोटीलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबीसहित अदालतमा मुद्दा दायर भएको थियो ।

पीडित बालिकाका बाबुआमाको भारतमा निधन भएको थियो । त्यसपछि उनलाई हजुरआमाले नेपाल ल्याएर लालनपालन गरिरहेकी थिइन् । संरक्षक बनेर बालिकालाई शिवकोटीले आफ्नो घरमा राखेका थिए ।

बालिकालाई शिवकोटीले पटकपटक करणी गरेको अभियोगपत्रमा उल्लेख छ । पटकपटकको बलात्कारपछि विक्षिप्त बनेकी बालिकालाई भारत ठूलीआमाकोमा जान भनेर हिँडेको अवस्थामा काँकडभिट्टा नाकाबाट उद्धार गरिएको थियो ।

बालिका मंसिर २४ गते कलेजको पोसाकमै नाकामा पुगेकी थिइन् । उनलाई मानव बेचबिखनविरुद्ध सक्रिय ‘किन नेपाल’ नामक संस्थाले उद्धार गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.