
काठमाडौं । राप्ती नदीमा चितवनबाट लगिएका ४१ वटा गोही छाडिएको छ ।
गत साउनयता ३ पटक गरी १ भालेसहित ४१ वटा गोही नदीमा छोडिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही नदीमा छोडेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले यो वर्ष थप ६० वटा गोही प्राकृतिक बासस्थानमा छोड्ने योजना रहेको जानकारी दिए ।
उनका अनुसार गत आवमा १ सय ५ वटा गोही नदीमा छोडिएको र नदी किनारबाट गोहीका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा कोरल्ने र त्यहाँ हुर्किएका बच्चालाई पुनः नदीमा छोड्ने गरिएको छ ।
हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा १ हजार ९ सय ९८ वटा गोही छोडिसकिएको छ । गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १ सय ५२ र नारायणी १ सय ३ गोही भेटिएको सूचना अधिकारी थापामगरले बताए । हाल प्रजनन केन्द्रमा ७ सय ५९ गोही छन् ।
तीमध्ये १ सय ९५ भुरा, ४ सय ३२ किशोर अवस्थाका, १ सय अर्धवयस्क र ३२ वयस्क छन् । घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमारलगायत देशमा पाइए पनि हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।
सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति थियो भने सन् १९७० मा त्यसको २ प्रतिशतमात्र संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।























