
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)का ४ जना डीआईजीको पदावधि १ वर्ष थपिएको छ ।
मन्त्रिपरिषद्को बैठकले एपीएफका ४ जना डीआईजीको पदावधि १ वर्ष थप्ने निर्णय गरे हो ।
नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरीको १ वर्ष पदावधि थप भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।
गृह मन्त्रालयको प्रस्तावमा ४ जना प्रहरी नायब महानिरीक्षकको पदावधि १ वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग)मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि ४ वर्षको हुने व्यवस्था छ ।
४ जना प्रहरी नायब महानिरीक्षक भएको आजै ४ वर्ष पूरा हुँदैछ । नियमावलीको दफा ६५ कै (ग)को (२)उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआईजी)को पदावधि ४ वर्षपछि १ वर्ष थप गर्न सक्ने उल्लेख छ ।























