
विराटनगर । धनकुटाको साँगुरीगढीमा हवाई फायर गरेर प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धनकुटाको सहिदभूमि गाँउपालिका–१ का ३४ वर्षीय नकुल राई, २१ वर्षीय ओमप्रकाश राई, साँगुरीगढी–८ का २८ वर्षीय मंगलकुमार राई, २९ वर्षीय बिसन राई, २६ वर्षीय थामबहादुर राई र २१ वर्षीय सुमन राई पक्राउ परेका छन् ।
लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार साँगुरीगढी गाउँपालिका–९ को सडक खण्ड हुँदै ५ वटा मोटरसाइकलमा गाँजा ओसारपसार भइरहेको भन्ने सूचना आएको थियो ।
मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिहरुले प्रहरी टोलीमाथि हातपात तथा ढुंगामुढा गर्न थालेपछि हवाई फायर गर्नु परेको एसएसपी दाहालले बताए । उनका अनुसार गाँजा बोकेको ५ वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई बुधबार बिहान सवा ४ बजेतिर इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले पक्राउ गरेको थियो । को ३८ प ३५२२, प्रदेश १–०२–०५३ प ९६६३, प्रदेश १–०२–०५३ प ८६१७, प्रदेश १–०२–०४३ प ९५९६ र को १४ प ७७५० नम्बरको मोटरसाइकलसहित १ सय २० केजी गाँजा प्रहरीले बरामद गरेको छ ।
लागुऔषध गाँजासहित पक्राउ परेका उनीहरुलाई थप कारबारही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको एसएसपी दाहालले बताए ।


























