
सप्तरी । कोशी ब्यारेजमा पुुुस शुक्ल पूर्णिमाको अवसरमा कोशी स्नान र मेला लागेको छ ।
आज (सोमबार) पुस शुक्ल पूर्णिमा अर्थात् माघ स्नान आजदेखि सुरु भएको र सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लाग्ने मेलामा बिहानैदेखि भक्तजनहरुको घुइँचो लाग्न थालेको छ ।
सप्तकोशी नदीमा स्नान गरेर उनीहरु मेला भर्न आउने गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेज, हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका–६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानहरुमा स्नान र मेला भर्नेहरुको संख्याले दिनभरि नै घुइँचो लाग्ने गर्छ ।
कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहँदै आएको छ । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यसदिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास स्थानीयको रहेको बताउँछन् ।
नदीमा नुहाएरपछि भुजा, च्युरा, पुरी, तरकारी, जेरीसहितका मिठाइहरु खाने प्रचलन छ ।
मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री)हरुको खरिद बिक्री हुने गरेको छ ।
सप्तरीको १८ वटा पालिकाहरुमध्ये कोशी क्षेत्रका अधिकांश पालिकाहरुले आज स्थानीय बिदा दिएको छ ।























