
काठमाडौं । भारतीय नागरिक मिलेर काठमाडौंबाट चिनियाँ नागरिकको अपहरण गरेको खुलेको छ । ४ जना भारतीयको समूहले काठमाडौंको ठमेलबाट मंगलबार दिउँसो चिनियाँ नागरिक यु हुआनलाई अपहरण गरेका हुन् ।
प्रहरीका अनुसार अपहरणमा परेका चिनियाँ नागरिकलाई फर्पिङबाट सकुशल उद्धार गरिएको छ । ठमेलको होटलबाट चिनियाँ अपहरणमा परेको सूचना प्रहरीलाई आएको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले अपहरणकारीको खोजी गर्दै अपहरणमा परेका चिनियाँ नागरिकको उद्धार गरेको हो । अपहरणमा संलग्न ४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
मकवानपुरको भिमफेदीबाट भारतको महाराष्ट्र घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थ्रोट, ३० वर्षीय अमोल खारमत, ४० वर्षीय आफा सरुनेश शाइक्स र ३० वर्षीय अमोल शीर्षतलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताचए ।
इलाका प्रहरी कार्यालय भिमफेदीकी इन्स्पेक्टर ललिता ढकाल नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुरुमा २ जना पक्राउ परेका थिए । प्रहरीको घेरामा परेको थाहा पाएपछि चिनियाँ नागरिकलाई लिएर जंगलतिर भाग्दै गर्दा थप २ जना पक्राउ परेको एसएसपी भट्टराईले बताए ।
भारतीय नागरिकले गाडीमा राखेर चिनियाँ नागरिकलाई लैजादैँ गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । चिनियाँ नागरिकलाई अपहरण गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























