
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्षका दुई जना कानुन व्यवसायी (वकिल)को बहस सकिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको पक्षमा वकालत गर्ने वकिलवहरुको बहस सकिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस जारी छ । उनी पक्षका वकिलकाे बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने छन् ।
त्यसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश अदालतले दिने छ । यसअघि सोमबार लामिछानेविरुद्ध सरकारी वकिल र जाहेरवाला तर्फका कानुन व्यवसायीले बहस गरेका थिए ।
लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठले बहस गरेका थिए । कानुन व्यवसायीहरुले लामिछानेलाई साधारण तारेखमा छाडेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन् ।
लामिछाने जिल्ला अदालत कास्कीको आदेशपछि ६५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनी आइतबार आफैं अदालतमा हाजिर भएका हुन् । लामिछानेविरुद्ध बहस गर्ने वकिलहरुले भने प्रमाण नष्ट गर्नसक्ने भएकाले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेका थिए ।
गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ बिगो मागदाबीसहित काठमाडौं अदालतमा मुद्दा दायर गरिएको छ ।

























