बूढीगंगा क्षेत्रमा बाँदरले हैरान, नियन्त्रणमा लिन भारतीय नागरिकको सहारा

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३, बिहीबार १२:०१

विराटनगर । उपचार गराउन मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना भएकी झापाको गौरीगञ्जकी ७८ वर्षीया अनसरी राजवंशीलाई अस्पताल परिसरमा नै बाँदरले आक्रमण गर्‍यो । मुटु रोगी उनले बाँदरको आक्रमणबाट थप चोट खेप्नुपरेको छ ।

अस्पतालबाहिर एक फार्मेसीमा काम गर्ने राजवंशीका नाति लक्ष्मी चौधरीका अनुसार कसैले पालेर भागेको बाँदरले आक्रमण गरेको हो । यहाँ यसरी उम्किएका र जंगलबाट आउने बाँदरले स्थानीयलाई हैरान बनाएको छ । केही बाँदरकै कारण घाइते पनि हुने गरेका छन् ।

बूढीगंगा गाउँपालिका क्षेत्रमा पछिल्लो समय बाँदरले अत्याधिक दुःख दिने गरेको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख कृष्ण भट्टराई बताउँछन् । गाउँपालिका ५, ६ र ७ वडामा बाँदरका हुलले स्थानीयले लगाएका बालीसमेत दैनिक नष्ट गर्ने गरेको छ । नजिकैका बाँसघारीमा बस्ने र स्थानीयको बाली र घरमा नै पसेर समेत क्षति गर्ने गरेको भट्टराईको भनाइ छ ।

भारतबाट मान्छे ल्याएर बाँदर समाउँदै गाउँपालिका
स्थानीयलाई अत्याधिक दुःख दिन थालेपछि गाउँपालिकाले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्यायो । ५ लाख बजेट खर्च गर्दै भारतबाट बाँदर समाउन सिपालु मान्छे ल्याएर १ सय ५० बढी बाँदर समाएर वन कार्यालयलाई बुझाएको स्थानीय बताउँछन् ।

‘पालिकाले बाँदरको समस्या समाधान गर्न एक उपभोक्ता समिति बनाएर बाँदर नियन्त्रण अभियान नै चलाएको छ । यसक्रममा करिब १ सय ५० बढीको संख्यामा बाँदर पक्रेर वन कार्यालयलाई बुझाएकाछौं । त्यसयता केही समस्या कम भएको छ, तर, बाँदर आउन अझै छाडेको छैन,’ स्थानीय समेत रहेका गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख भट्टराईले भने ।

बाँदर सिंघिया खोला आसपासको घना बाँसघारी बस्ने र मौका हेरी स्थानीयले लगाएको तोरी खेती, मकै, फलफुल खाँदै र नष्ट गर्दै आएको छ । समितिका अध्यक्ष साझुलाल सुतिहारले बाँदरले अहिले पनि उस्तै समस्या दिँदै आएको गुनासो गरे । रातिको समय स्थानीय बास झ्याङमा लुकेर बस्ने गरेका बाँदरले बिहानबाट गाउँ पसेर उपद्रो मच्चाउने गरेको सुतिहारको भनाइ छ ।

बाँदर पक्रनका लागि गाउँपालिकाको सहयोगमा ४ जना भारतीय नागरिक त्यस स्थानमा ल्याइएको थियो । ‘त्यसबेला करिब १ सय ५० बढी बाँदर पक्रिन सक्यौं । तर, अझै पनि बाँदरको उपद्रो कम भएको छैन । समस्या हलका लागि निकायलाई पटकपटक भनिसक्यौं । तर, सुनुवाई भएको छैन,’ अध्यक्ष सुतिहार भन्छन् ।

भारतीय नागरिकले बाँदरलाई जालमा राखेर, वा धरापमा पारेर पक्रने गरेका छन् । पक्रिएका बाँदरलाई स्थानीय बेलबारी र केराबारीको सामुदायिक वनमा छाडिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.