
चितवन । सहकारीको रकम अपचलनमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
साहारा चितवन सहकारीको रकम अपचलन मुद्दामा लामिछानेलाई प्रतिवादी बनाउन लागिएको हो । उक्त सहकारीमा भएको अनियमितताको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
प्रहरीले यसअघि नै मिसिल बुझाएको थियो । तर, अनुसन्धान नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन प्रहरीलाई नै फिर्ता गर्यो । प्रहरीबाट थप अनुसन्धान गरेर मिसिल प्राप्त भएको वकिल कार्यालयले जनाएको छ ।
सरकारी वकिल कार्यालयले मिसिल अध्ययन गरिरहेको छ । प्रहरीको मिसिलका आधारमा लामिछानेसहितलाई प्रतिवादी बनाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ ।
वकिल कार्यालयले कम्तीमा १ साताभित्रमा मुद्दा दर्ता गरिने जनाएको छ । मुद्दामा ३२ जनालाई प्रतिवादी बनाउने तयारी छ ।
सरकारी वकिलले अनुसन्धानको प्रतिवेदन फिर्ता गरेपछि प्रहरीले थप १ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन पुनः बुझाएको हो । मुद्दामा १ जना प्रतिवादी थप भएका हुन् ।
प्रहरीले सुरुमा माघ ४ गते अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, वकिल कार्यालयले थप अनुसन्धान गर्न निर्देशन दिँदै प्रहरीलाई नै फिर्ता पठायो । प्रहरीले सहारा बचतको टाँडी शाखामा खाता सञ्चालन गर्ने प्रगति श्रेष्ठलाई पनि प्रतिवादी बनाउन राय दिएको छ ।
पूरक अभियोगमा लामिछानेसहित १५ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय प्रहरीले दिएको छ ।
यसअघिको अभियोगमा १७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रहरीले बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ भराउनुपर्ने राय दिएको छ ।
अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९ सय २८ रुपैयाँ अपचलन भएको देखिएको छ । सहारा बचतबाट गोरखा मिडियामार्फत १० करोड ८० लाख ९८ हजार १ सय ५१ रुपैयाँ अपचलन भएको प्रहरीको प्रतिवेदनमा खुलाइएको स्रोतले बतायो ।

























