
काठमाडौं । नेपाल प्रहरीमा अब २७ वर्ष उमेर पूरा नभएकाले इन्स्पेक्टर (प्रहरी निरीक्षक) भिड्न पाउने भएका छन् । प्रहरीमा प्राविधिकतर्फ र कार्यालय सहयोगीसहित इन्स्पेक्टर, असइ (प्रहरी सहायक निरीक्षक) र जवान खुला प्रतिस्पर्धामार्फत भर्ना गरिन्छ ।
प्रहरीभित्र इन्स्पेक्टर अधिकृत र असइ जुनियर अधिकृत हुन्छन् । अब इन्स्पेक्टरमा २७ वर्षसम्मका युवाले दरखास्त दिन पाउने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा खुला प्रतियोगिताबाट पदपूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाले आवेदन दिनसक्ने व्यवस्था गरिएको हो ।
यसअघि इन्स्पेक्टरका लागि २५ वर्षसम्मको सीमा थियो । पछिल्लो समय इन्स्पेक्टरमा दर्खास्त दिनेकै संख्या कम भइरहेको बेला प्रहरी प्रधान कार्यालयले यस्तो प्रस्ताव अघि सारेको छ। यसपछि गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएर संसद्मा दर्ता विधेयकमा यो प्रस्ताव गरिएको हो ।
त्यस्तै, असइमा भर्ना हुँदा १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ । जवानमा १८ वर्ष पूरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ । कार्यालय सहयोगी पदमा १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।
प्राविधिकतर्फ भने डीएसपी (प्रहरी नायब उपरीक्षक)मा २३ वर्ष पूरा भइ २५ वर्ष ननाघेकाले प्रतिष्पर्धा गर्न सक्ने उल्लेख छ । प्राविधिकतर्फ इन्स्पेक्टरका लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको व्यवस्था हुनुपर्ने प्रस्ताव गरिएको छ ।

























