धरान र विराटनगरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २५, शुक्रबार ०६:५६

विराटनगर । सुनसरीको धरान र मोरङको विराटनगरबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ ।

धरानबाट धनकुटा घर भएका २ जना युवा पक्राउ परेका छन् । विराटनगरबाट मोरङको उर्लाबारी र चितवनको भरतपुर घर भएका युवाहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर दिवश कुँवरले धनकुटाको धनकुटा नगरपालिका–४ देब्रेवासका २३ वर्षीय रोशन श्रेष्ठ र २४ वर्षीय निरज घिमिरेलाई पक्राउ गरिएको बताए । उनका अनुसार दुवै जना प्रदेश १–०२–०३५ प १५३४ नम्बरको स्कुटरमा सवार थिए ।

पक्राउ पर्नेमध्ये श्रेष्ठ स्कुटर चालक हुन् । घिमिरे पछाडि सवार थिए । अस्थायी प्रहरी पोस्ट अमरहाटबाट खटिएको असइ भलबहादुर कटुवाल नेतृत्वको टोलीले उनीहरुलाई कोशी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका–४ आँपगाछीबाट मध्यरातमा पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तु १६ ग्राम ५ सय ६० मिलिग्राम बरामद भएको इन्स्पेक्टर कुँवरले बताए । उनका अनुसार दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै, विराटनगरका अलगअलग स्थानबाट २ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट उर्लाबारी नगरपालिका–७ का २० वर्षीय अमन मियाँ पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले खैरो हेरोइनजस्तो देखिने वस्तु ४ ग्राम १८ मिलिग्रामसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । मियाँले भारतको जोगवनीबाट खरिद गरेर ल्याएको प्रहरीले जनाएको छ ।

यता, विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट चितवनको भरतपुर महानगरपालिका–४ का २६ वर्षीय समीर मगर पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले भारतको जोगवनीबाट आउँदै गरेका मगरलाई बिहीबार अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट खैरो हेरोइनजस्तो देखिने वस्तु १ ग्राम १२ मिलिग्राम बरामद गरेको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.