
काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडि सोमबार ‘दलितका लागि दलित’ अभियानका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
संसद भवन अगाडि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएपछि सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले सर्लाहीको अन्तरजातीय विवाहविरुद्ध सरकार र प्रहरीले दमन गरेको भन्दै विरोध गरी गृहमन्त्री र घटनामा संलग्न प्रहरीहरूलाई कारबाही हुनुपर्ने माग राखी आन्दोलन गर्दै आएका छन् ।
सुनारले सर्लाहीका अन्तरजातीय जोडी सत्येन्द्र राम र नेहा रौनियारलाई छुटाउन सरकारको असहयोग र ज्यादतीविरुद्ध ५ दिनदेखि आन्दोलन गर्दै आएका थिए ।
यस क्रममा उनले गृहमन्त्रीलाई कारबाहीको माग गर्दै अन्तरजातीय विवाहलाई अप्ठ्यारो पार्ने तथा झुट्टा मुद्दा लगाउने प्रहरीमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएका छन् ।
सत्येन्द्र र नेहाको जोडीलाई पक्राउ गर्न प्रहरीकै संलग्नतामा भारतसम्म टोली पठाइएको, उनीहरूलाई पटकपटक झुट्टा मुद्दा लगाइएको जस्ता घटनाको विरोधमा सुनारले आन्दोलन गर्दै आएको दलित अधिकारकर्मीहरूले बताए ।
सत्येन्द्र र नेहाको जोडीलाई गत पुस ९ गते प्रहरीले पक्राउ गरेको थियो । तर, सर्वोच्च अदालतले उनीहरूकै पक्षमा फैसला गरिसकेको छ ।























