
काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले लामिछानेसँग धरौटीबापतको रकम लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनी धरौटी रकम बुझाएर छुटेका थिए । लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गरिएको हो ।
जिल्ला अदालत काठमाडौंको आदेशविरूद्व उच्च सरकारी वकिल कार्यालय पाटनले मुद्दा दायर गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने काठमाडौं अदालतको आदेशपछि ६० लाख धरौटी बुझाएर माघ २ गते रिहा भएका थिए ।
उच्च सरकारी वकिलको कार्यालयले स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्जा उपसमितिका सदस्य कमल लामालाई पनि थुनामै राख्न माग गरेर पुनरावेदन गरेको छ ।

























