
काठमाडौं । देशैभरका सहरहरूमध्ये प्रदूषित सहरको पहिलो नम्बरमा पोखरा परेको छ ।
पछिल्लो समय पोखरामा प्रदूषणको तह उच्च देखिन थालेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
वातावरण मन्त्रालयअन्तर्गत वायु गुणस्तर निगरानी विभागका अनुसार बुधबार पोखरामा वायु प्रदूषणको तह १८७ एक्यूआई पुगेको छ । यो देशैभरका सहरहरूमा भन्दा बढी हो ।
बुधबार विश्वका प्रदूषित सहरहरूमा ७ औं स्थानमा रहेको काठमाडौंको १६१ एक्यूआई रहेको छ । भरतपुरको १७० एक्यूआई, भैसेपाटीको १५४, काठमाडौं रत्नपार्कको १५१ एक्यूआई मापन भएको छ ।
खुमलटार, शंखपार्क, धुलिखेल, भक्तपुरलगायतका सहरहरू पनि प्रदूषित देखिएका छन् । मंगलबार शंखपार्क मा २०८ एक्यूआई देखिएको थियो ।
०–५० एक्यूआईसम्मको सूचकांकलाई राम्रो मानिन्छ । ५१–१०० मध्यम, १०१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआईभन्दा माथि भए खतरनाक तहमा पुगेको मानिन्छ ।























