अख्तियारमा उजुरी गरेको निहुँमा बेलबारीका मेयरले अधिकृतको जिम्मेवारी खोसे 

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार १६:३९

विराटनगर । बेलबारी नगरपालिकाका एक जना अधिकृतलाई जिम्मेवारीबाट हटाएपछि मेयर र उपमेयरबीच विवाद सुरु भएको छ ।

बुधबार (आज) नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेकी हुन् । मेयर दिलप्रसाद राईले विधि र विधानविपरीत ८ औं तहका अधिकृत महेन्द्र खड्कालाई जिम्मेवारीबाट हटाएको आरोप उपमेयर कोइरालाले लगाएकी छन् । 

नगरपालिकाको कार्यपालिका बैठकले ८ औं तहका अधिकृत महेन्द्र खड्कालाई जिम्मेवारीबाट हटाएको छ । उपमेयरलाई जानकारी नदिई मेयर राईले खड्कालाई जिम्मेवारीबाट हटाएका हुन् ।

माघ २८ गते बसेको कार्यपालिकाको बैठकले गरेको निर्णयमा कार्यपालिकाको गोपनीयता भङ्ग गरेको र कार्यालयको हितविपरीत काम गरेका आरोप छ । 

कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘बेलबारी नगरपालिकाको कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृतस्तर ८ औं तहका कर्मचारी महेन्द्र खड्काबाट कार्यपालिकाको गोपनीयता भङ्ग गर्ने, कार्यलयको हितविपरीत काम कारबाही गर्ने लगायत पदीय मर्यादा विपरीत काम कारबाही गरेको पाइएको हुँदा निजलाई हालको जिम्मेवारीबाट हटाइ आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा लेखी पठाउने सर्वसम्मत निर्णय गरियो ।’

नगरपालिका स्रोतका अनुसार बेलबारी–७ मा व्यक्तिको जग्गामा सरकारी बजेटमा घाट निर्माण भइरहेको छ । १ करोड ११ लाखमा ठेक्का लागेको घाटाको निर्माण कार्य जारी छ । व्यक्तिको जग्गामा सरकारी बजेट खर्च भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यो उजुरी खड्काले गर्न लगाएको आरोप छ ।

खड्काले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

खड्कालाई दिइएको पत्रमा ‘प्रस्तुत विषयमा तपाईंलाई यस नगरपालिकाको कर्मचारी प्रशासन शाखाको शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति २०८१।१०।२८ गते बसेको १२७ औं बैठकको निर्णयानुसार तपाईंलाई अर्को व्यवस्था नभएसम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

नगरपालिकाले खड्कालाई पत्र दिएपछि उनी कार्यालयमा हाजिर भएका छैनन् । 

अधिकृत खड्कालाई आफ्ना कुरा राख्ने मौका नदिई जिम्मेवारीबाट हटाउनु गलत भएको उपमेयर कोइरालाको भनाइ छ । उनले खड्कामाथि भएको कारबाही गैरकानुनी भएको बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले नगरपालिकाको हितविपरीत काम गरेका कारण कार्यपालिकाले जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.