अनलाइन नागरिकता सिफारिससम्बन्धी अभिमुखीकरण सुरु 

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार २०:१३

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी २ दिने अभिमुखीकरण सुरु भएको छ । 

अभिमुखीकरण कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्‌घाटन गरिन् । २ दिने अभिमुखीकरणमा महानगरका १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी छन् । 

पहिलो दिन बुधबार १, २, ३, ४, ५, ६, १०, १४, १७ र १८ नम्बरका वडासचिव र सिफारिस हेर्ने कर्मचारीलाई तालिममा सहभागी गराइएको छ ।

उनीहरुलाई अनलाइन डाटा इन्ट्री, वडामा डाटा इन्ट्री गरिसकेपछि जिल्ला प्रशासन कार्यालय पठाउने तरिका, नयाँ नागरिकताका लागि अनलाइन सिफारिस, सिफारिस गर्नुभन्दा अगाडि आवश्यक पर्ने कागजातलाई स्क्यान गर्ने तरिकालगायतका विषयमा जानकारी गराइनेछ । 

कार्यक्रममा उपमेयर कार्कीले नागरिकताको अनलाइन सिफारिसले जिल्ला प्रशासन कार्यालयमा हुने ढिलासुस्ती र झन्झट कम हुने बताइन् ।

सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा घण्टौँ लाइनमा बस्नुपर्ने झन्झट समाप्त हुने उनको भनाइ थियो । उनले अब कुनै कारणले नागरिकता हराए वा नष्ट भएमा त्यसको विवरण सहजै पाउन सकिने उल्लेख गरिन् । 

सिफारिस गर्दा कर्मचारीलाई समस्या नहोस् भनेर महानगरले तालिम सञ्चालन गरेको उपमेयर कार्कीले जानकारी दिइन् ।  

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले कम्प्युटर चलाउन जान्नेले नागरिकताको अनलाइन सिफारिस सहजै गर्न सक्ने बताए । उनले सरकारी सेवालाई प्रविधिमैत्री बनाउने लक्ष्य सरकारको नीतिअनुसार नागरिकताको अनलाइन सिफारिस सुरु भएको उल्लेख गरे । 

तालिमपछि नागरिकता अनलाइन सिफारिस गर्दा समस्या नआउने उनको भनाइ थियो । २ दिनसम्म सञ्चालन हुने तालिममा बिहीबार वडा नम्बर ७, ८, ९, ११, १२, १३, १५, १६ र १९ का वडासचिव र सिफारिस हेर्ने कर्मचारीलाई सहभागी गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले बताए । 

महानगरपालिकाकी आइटी शाखाकी अर्चना कर्ण र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले तालिममा सहजीकरण गरेका छन् ।  मोरङका १७ स्थानीय तहका १५९ वटै वडाबाट अनलाइन नागरिकता सिफारिस सुरु भइसकेको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.