अपराधिक पृष्ठभूमिका अखिल नेता, जसका विरुद्ध ५ वटा मुद्दा

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १, बिहीबार २०:१४

काठमाडौं । कमलराज जोशी सत्तारुढ नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को स्थायी कमिटी सदस्य हुन् । उनको अपराधिक पृष्ठभूमि भने निकै लामो छ ।

राजनीतिक आडमा उनले विभिन्न अपराधिक घटना घटाएका छन् । पछिल्लो समय गत माघ २४ गते काठमाडौंको ठमेलमा ड्यूटीमा खटिएका २ जना प्रहरीमाथि कुटपिट गरे । सुरुमा प्रहरीले उनलाई पक्राउ गरेको थिएन । प्रहरी कुट्ने समूहमा जोशीसँगै रहेका अन्य ५ जनाविरुद्ध मात्रै पक्राउ पुर्जी जारी भयो ।

तर, अखिल नेता जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएन । पक्राउ पुर्जी जारी भएकामध्ये ताप्लेजुङको फुङलिङ नगरपालिका– १ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको छ । यो घटनामा संलग्न नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही फरार छन् । राजनीतिक आडमा जोशीले भने उन्मुक्ति पाएका थिए । तर, चौतर्फी दबाबपछि प्रहरीले बिहीबार जोशीलाई पक्राउ गरेको छ । जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट कुटिएका थिए ।

प्रहरीका अनुसार जोशीको अपराधिक पृष्ठभूमि निकै लामो छ । राजनीतिक आडमा उनले विभिन्न अपराध गरेका छन् । ५ वटा मुद्दा त प्रहरी रेकर्डमा नै भेटिएको छ । तर, अनेरास्ववियु भने आफ्ना नेतालाई प्रहरीले बदनाम गर्न खोजेको भन्दै संरक्षण गरिरहेको छ ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा जोशीको अपराध यात्रा २०७९ देखि सुरु भएको देखिन्छ । बझाङको दुर्गाथली गाउँपालिका–४ स्थायी घर भएका २९ वर्षीय जोशीविरुद्ध २०७९ सालमा जेठ २२ गते अस्कल क्याम्पसका उपप्राध्यापक दिवाकर पाण्डेमाथि कुटपिट गरेको मुद्दा छ ।

बीएससी सीएसआईटीको प्रवेश परीक्षाको नतिजा नै किर्ते गरेको आरोप जोशीलाई लागेको थियो । जोशीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट लिखत कीर्तेको कसुरमा मुद्दा चलाइएको थियो ।

लिखत किर्तेको आरोप लागेको २ महिनापछि २०७९ साउन २६ गते अस्कल क्याम्पसका विद्यार्थी विकास राईमाथि निर्घात कुटपिट गरेपछि जोशीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । जोशीसहितका व्यक्तिले २०८० वैशाख १७ वैशाखमा अखिल क्रान्तिकारी अस्कल क्याम्पसका अध्यक्ष खेम सिंहसहित ४ जनामाथि आक्रमण गरेको थियो । यो घटनापछि पनि उनलाई ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो ।

जोशीविरुद्ध २०८० सालमै प्रहरी वृत्त लैनचौरको अनुसन्धान प्रतिवेदनबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो । ‘प्रहरीको रेकर्डमा नआएका अन्य घटनापनि छन् । जुन क्याम्पस परिसरमै मिलाइएको रहेछ,’ प्रहरी स्रोतले भन्यो । ४ मुद्दामा धरौटीमा छुटेका जोशी सुध्रिएका थिएनन् । प्रहरीमाथि आक्रमण गरेपछि फेरि नयाँ मुद्दा थपिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.