
काठमाडौं । विश्व प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ आज (शुक्रबार) परेको छ । प्रत्येक वर्ष फेब्रुअरी १४ मा प्रेम साटासाट गरेर यो दिवस मनाउने चलन छ ।
नेपालसहित विश्वभर विशेष उत्साहका साथ दिवस मनाइन्छ । आज भ्यालेन्टाइन सप्ताहको अन्तिम अर्थात सबैभन्दा महत्त्वपूर्ण दिन पनि हो । विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको यो दिन प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदानका साथमा माया साटासाट गर्छन् । यस दिनलाई प्रणय दिवस भनिन्छ ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए। उनको भनाइ थियो, ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ।’
उनले आफ्नो राज्यमा कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न नपाउने उद्घोष गरिदिए । तर, भ्यालेन्टाइनलाई क्लोडियसको कुरा मन परेन। उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाह समेत गराइदिए।
भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट आक्रोशित भएका क्लोडियसले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी (मृत्युदण्ड) दिने निर्णय गरे। फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेख्दै भनेका थिए, ‘फ्रम योर भ्यालेन्टाइन।’
यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू।’ यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले प्रणय दिवस मनाउन सुरु गरेका हुन् ।
यो दिवस मनाउने क्रममा प्रेमी–प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने गर्छन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसलाई आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरिन्छ ।
पछिल्लो समय ‘भ्यालेन्टाइन डे’ आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ। फेब्रुअरी ७ लाई ‘रोज डे’, फेब्रुअरी ८ लाई ‘प्रपोज डे’, ९ लाई ‘चकलेट डे’, १० लाई ‘टेडी डे’, ११ लाई ‘प्रमिस डे’, १२ लाई ‘चुम्बन डे’, १३ लाई ‘हग डे’ र १४ लाई ‘भ्यालेन्टाइन डे’ को रूपमा मनाउने चलन छ । विशेष गरी यो दिनलाई प्रेम प्रस्ताव राख्ने, प्रेम भाव प्रकट गर्ने र प्रेम सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिने गरिन्छ ।























