२०८२ सालको पात्रो सार्वजनिक, कुन पर्व कहिले ?

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २, शुक्रबार १२:५२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०८२ सालको पात्रो सार्वजनिक गरेको छ ।

पात्रो अनुसार २०८२ साल असोज ६ गतेबाट दसैं सुरु हुने छ । असोज ६ गते घटनास्थापना परेको छ । त्यही दिनदेखि नवरात्र सुरु हुने छ । असोज १३ गते फूलपाती, १४ गते महाअष्टमी, १५ गते महानवमी र असोज १६ गते विजयादशमी परेको छ । असोज २० गते कोजाग्रत पूर्णीमासँगै दसैं सम्पन्न हुने छ ।

कात्तिक २ गतेबाट तिहार सुरु हुने छ । कात्तिक २ गते कागतिहार तथा धन्वन्तरि जयन्ती तथा ३ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ५ गते गाई पूजा, गोरुपूजा, गोवर्धनपूजा र म्ह पूजा तथा नेपालसम्वत ११४६ आरम्भ हुनेछ । कात्तिक ६ गते भाइटीका अर्थात यमद्धितीय परेको छ ।

असोज २१ गते कार्तिक स्नान एवं आकाशदीपदान आरम्भ हुनेछ । २०८२ सालमा मनाइने अन्य पर्वको तिथि र मितिसहितको पात्रो सार्वजनिक भएको छ । २०८२ साल वैशाख १४ गते मातातीर्थ औंसी परेको छ । यो दिन मातातीर्थ स्नान गरिन्छ भने यसै दिनलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ ।

वैशाख १७ गते अक्षय तृतीया परेको छ । वैशाख १७ बाटै त्रेतायुग सुरु भएको मानिन्छ । वैशाख २९ गते गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा तथा उभौलीपर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

जेठ १४ गते निर्जला एकादशी व्रत परेको छ । यही दिन तुलसीको दल राखिन्छ । असार २२ गते हरिशयनी एकादशी व्रत परेको छ । तुलसीको बिरुवासमेत रोपिन्छ । असार २३ गते चतुर्मास व्रत सुरु हुनेछ । असार २६ गते गुरु पूर्णिमा परेको छ । उक्त दिन शिक्षा दिने गुरुहरूको सम्झनामा व्यास जयन्ती मनाइन्छ ।

साउन ९ गते शुक्रबार गुँलाधर्म आरम्भ हुनेछ । साउन १३ गते मंगलबार नागपञ्चमी, साउन २४ गते रक्षा बन्धन, ऋषितर्पणी पूर्णिमा वा जनैपूर्णिमा परेको छ । साउन २५ गते गाईजात्रा र ३१ गते श्रीकृष्ण जन्माष्टमी परेको छ ।

भदौ ७ गते कुशेऔंसी परेको छ । त्यो दिन बुवाको मुख हेर्ने पर्व पनि हो । भदौ ८ गते आइतबार गुँलाधर्म समाप्ति हुनेछ । भदौ ९ गते दरखाने दिन र १० गते हरितालिका तिज परेको छ ।

भदौ १२ गते ऋषिपञ्चमी व्रत वा सप्तऋषि पूजा र भदौ २२ गते पूर्णिमा तिथि परेको छ । भदौ २२ गते खग्रास चन्द्र ग्रहणसमेत लाग्ने छ । भदौ २३ गतेबाट सोह्र श्राद्ध सुरु भएर असोज ५ गते औंसी श्राद्ध गरिसके पछि पितृ विसर्जन गरिनेछ ।

कात्तिक १० गते डालापर्व र षठपर्व तथा १५ गते हरिबोधनी एकादशी व्रत परेको छ । हरिबोधनी एकादशीमा तुलसीको विवाह गरिन्छ । कात्तिक १९ गते बुधवार पूर्णिमा व्रत, कार्तिक स्थान र चतुर्मास व्रत समाप्ति हुनेछ ।

दिवंगत आफन्तको नाममा धार्मिक स्थलहरूमा शतवीज छर्ने बालाचतुर्दशी मंसिर ३ गते परेको छ । मंसिर ८ गते धान्यपूर्णिमा र ९ गते विवाह पञ्चमी परेको छ । पुस १९ गते पूर्णिमा व्रत, श्री स्वस्थानी व्रत सुरु र माघ स्नान आरम्भ हुनेछ ।

उत्तरायण सुरु हुने माघ १ गते माघेसंक्रान्ति पर्व मनाइन्छ । माघ ५ गते सोनाम ल्होसार, माघ ९ गते वसन्त पञ्चमी तथा श्रीपञ्चमी परेको छ । वसन्त पञ्चमी तथा श्रीपञ्चमीका दिन सरस्वती माताको पूजा गरिन्छ । माघ १८ गते माघस्थान र स्वस्थानी व्रत समापन गरिने छ ।

फागुन ३ गते माहाशिवरात्री, ६ गते ग्याल्पो ल्होसार परेको छ । फागुन १८ गते पहाडको होली परेको छ । १९ गते फागुपूर्णिमा परेको छ । त्यो दिन तराईमा होली खेल्ने गरिन्छ । फागुन १९ गते २०८२ सालको दोस्रो खण्डग्रास चन्द्र ग्रहणसमेत लाग्ने छ । चैत्र ४ गते घोडेजात्रा, ५ गते रामनवमी र १२ गते चैतेदसैं पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.