
विराटनगर । भारतको जोगवनीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) लिएर आउँदै गरेका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका–६ का १८ वर्षीय रोहित राजवंशीलाई प्रहरीले बिहीबार साँझ विराटनगरबाट पक्राउ गरेको हो । जोगवनीबाट खैरो हेरोइन लिएर आउँदै गरेका उनलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ गरिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले राजवंशीलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा राजवंशीको साथबाट खैरो हेरोइनजस्तो देखिने वस्तु १४.७८ ग्राम फेला परेको थियो ।
साथबाट लागुऔषध बरामद भएपछि उनलाई पक्राउ गरिएको जानकारी ओलीले दिए । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।

























