नेपालमा बसेर अनलाइन जुवा खेलाउने २४ जना भारतीय पक्राउ

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार १३:१७

काठमाडौं । नेपालमा बसेर अनलाइन जुवा खेलाउने २४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठबाट सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो । ‘अनलाइन बेटिङ’ तथा जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।

कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार छापा मारेर २४ जना भारतीयलाई पक्राउ गरिएको छ । पक्राउ परेकाको साथबाट २१ वटा मोबाइल र ३८ वटा ल्यापटप बरामद गरिएको बस्नेतले बताए ।

प्रहरीका अनुसार पक्राउ परेको समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रुपैयाँ बराबरको ‘अनलाइन जुवा’को कारोबार गरेको पाइएको छ । ‘स्काई एक्सचेन्ज वेबसाइट’मार्फत उनीहरूले ‘अनलाइन गेम’ तथा जुवा खेलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

ह्वाट्स एप, टेलिग्रामलगायत विभिन्न माध्यमको प्रयोग गरेर जुवा खेलाउने गरेको पाइएको छ । त्यसका लागि शस्काई एक्सचेन्ज’कै मान्छेहरूले लगइन गर्नेलाई ‘युजर आईडी’ र ‘पासपोर्ट’ बनाएर दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘अनलाइन गेम’ तथा ‘बेटिङ खेल्न भनेर रकम जम्मा गर्न लगाउने र भारत लैजाने गरिएको प्रहरीको दाबी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.